×

PrabashPost

Message From President

“नेपाल घिसिङ समाज” को प्रमुख उद्देश्य आफ्ना आदिम पुर्खाहरूको खोज तथा अनुसन्धान गर्नु हो। यस क्रममा उनीहरूले तत्कालीन समयमा अवलम्बन गरेका मौलिक धर्म–कर्म, संस्कार–संस्कृति, खानपान, रहन–सहन, पूजा–पाठ, चाडपर्व लगायतका परम्पराहरूको पहिचान गरी तिनलाई समयसापेक्ष बनाउँदै सर्वमान्य ढंगले केन्द्रित व्यवहारमा ल्याउनु हाम्रो लक्ष्य हो। यसरी प्राप्त तथ्य, जानकारी र परम्पराहरूको आधारमा वंशावली निर्माण गर्नुका साथै पुर्ख्यौली थातथलोको संरक्षण, संवर्द्धन र मर्मत–सम्भार गर्दै भावी सन्ततिहरूका लागि एक ऐतिहासिक शिक्षालय तथा पर्यटकीय स्थलको रूपमा विकास गर्नु समाजका दीर्घकालीन उद्देश्यहरू हुन्। वर्तमान अवस्थामा समाजका यी लक्ष्यहरू केही हदसम्म पूरा गर्दै यसलाई एक प्रतिष्ठित संस्थाका रूपमा स्थापित गर्ने जिम्मेवारी म तथा मेरो नेतृत्वको कार्यसमितिको काँधमा आएको छ। यो एकातिर गर्वको विषय हो भने अर्कोतिर व्यवहारमा उतार्न चुनौतीपूर्ण पनि छ। तथापि, यहाँहरू सबैको आवश्यक साथ, सहयोग र सहभागिता प्राप्त हुन सकेमा यो लक्ष्य असम्भव छैन भन्ने दृढ विश्वास लिएको छु। यसै आशा र अपेक्षाका साथ देश–विदेशमा छरिएर रहनु भएका करिब ४,००,००० घिसिङ वंशजहरूको तर्फबाट यहाँहरू सबैमा हार्दिक अपिल गर्दछु। स्वाभाविक रूपमा आफ्नो जाति र वंशको पहिचान जोगाउनु तथा यसको उत्थान गर्नु हरेक सचेत घिसिङ वंशजको दायित्व हो। यस तथ्यलाई आत्मसात् गर्दै हामी जहाँ रहे पनि, जे गरे पनि, आफ्नो कुलको गौरवको झण्डा मजबुत रूपमा थामिराखौँ। हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? अब समय आएको छ—एकताबद्ध भई समाजको लक्ष्य प्राप्तिका लागि सबै जना जागौँ। सबैमा हार्दिक शुभकामना! एल. बी. घिसिङ अध्यक्ष नेपाल घिसिङ समाज